चार बुँदे सहमतिपछि स्थगन भयो प्रहरीविरुद्धको आन्दोलन


eShilalekh

११ श्रावण २०८०, बिहीबार ००:४७

सिमराः आन्दोलनरत राजनीतिक दल र स्थानीय प्रशासनबीच चार बुँदे सहमति भएसंगै बाराको कलैयामा जारी आन्दोदल विहिवारदेखि स्थगन भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधवार भएको छलफलमा चार बुँदे सहमति भएपछि आन्दोलनरत नेपाली कांग्रेससहितका राजनीतिक दलले आन्दोलन फिर्ता लिएका हुन् ।

केही दिनअघि कांग्रेस बाराका सचिव भैयाराम यादव र नेकपा एसका उपसचिव ध्रुव यादवमाथी प्रहरीबाट कुटपिट भएको भन्दै कांग्रेससहितका राजनीतिक दल आन्दोलित बनेका थिए । दुबै पार्टीका नेतामाथी कुटपिट गर्ने प्रहरीलाई निलम्बन गर्न माग राखेर सुरु भएको आन्दोलन चर्किदै गएको थियो ।

आन्दोलनरत दलले बजार बन्दको समेत आवहान गरेका थिए । सो क्रममा प्रहरी र आन्दोलनकारीबीच कलैयामा झडप समेत भएको थियो । आन्दोलन थप हिंसात्मक हुन नदिन बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा भएको छलफलमा चार बुँदे सहमति भएको हो ।

सहमतिअनुसार कुटपिटमा संलग्न प्रहरी अधिकृतले कुटपिटबाट घाईते नेतासंग क्षमा माग्नुपर्ने, दुई प्रहरी अधिकृतलाई दुई वर्ष गणमा व्यवस्थापन गरिनुपर्ने, घाईतको क्षतिपूर्ति सरकारले व्यहोर्नुपर्ने र आन्दोलन फिर्ता गर्ने गरी सहमति भएको हो ।

आन्दोलन फिर्ता भएपछि जिल्ला प्रशासन कार्यालय बाराले धन्यवाद व्यक्त गरेको छ । प्रजिअ सापकोटाले विज्ञप्ति जारी गर्दै आन्दोलनलाई स्थगन गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।

सवारी दुर्घटनाको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय पुगेका नेतालाई बाराका प्रहरी नायब उपरिक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरिक्षक रुपेश साहले कुटपिट गरेको भन्दै कांग्रेस र नेकपा एसका नेताकार्यकर्ताले एक सातादेखि कलैयामा आन्दोलन गरेका थिए । कुटपिटबाट घाईते भएका कांग्रेस सचिव यादवलाई थप उपचारका लागि दिल्ली लगिएको छ । उनको ढाडमा चोट लागेको छ ।

आन्दोलन चर्किदै गएपछि पाण्डे र साहलाई बाराबाट अन्यत्र सरुवा गरेर छानविनका लागि टोली समेत पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्