टांगियाबस्तीमा प्रहरी र स्थानीयबीच झडप, हतकडीसहित युवक फरार


eShilalekh

१६ श्रावण २०८०, मंगलवार १४:२२

सिमराः हतियारसहित युवक पक्राउ गर्ने क्रममा बाराको जीतपुरसिमरा १६ टांगियाबस्तीमा मंगलवार बिहान प्रहरी र स्थानीयबीच झडप भएको छ । घरमा हतियार राखेको सूचना पाएपछि पुगेको निजगढस्थित ईलाका प्रहरी कार्यालय प्रहरी टोलीले ३५ वर्षीय सागर लामालाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा पुगेको प्रहरी टोलीले हतियारसहित युवकलाई नियन्त्रणमा लिएर लैजान लाग्दा स्थानीयले घेरा हालेर प्रहरीमाथी ढुंगा प्रहार गरेका थिए । संयौको संख्यामा रहेका स्थानीयले आक्रमण गर्न थालेपछि प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको थियो ।

स्थानीयले प्रहरीमाथी ढुंगा प्रहार गर्न थालेपछि पक्राउ परेका लामा हतकडीसहित फरार भएका छन् । प्रहरीलाई बाटोमा घेरा हालेर स्थानीयले ढुंगा प्रहार गर्न थालेपछि लामा हतकडीसहित फरार भएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

स्थानीयसंग झडप हुँदा ईलाका प्रहरी कार्यालयमा कार्यरत बरिष्ठ प्रहरी नायब निरीक्षक कलमबहादुर शाही र प्रहरी सहायक निरीक्षक बलराम गिरी सामान्य घाईते भएका छन् । उनिहरुको शरिरमा चोट लागेको छ भने प्रहरी पोशाक च्यातिएको छ ।

प्रहरीले लामाको घरबाट गोली भरिएको भरुवा बन्दुकसहित बाघको दाँत, रौं, नंग्रा जस्तो देखिने बस्तु बरामद गरेको छ । प्रहरीका अनुसार लामा वन्यजन्तुको शिकारमा संलग्न रहदै आएका थिए । प्रहरी नियन्त्रणबाट उम्किएका लामाको खोजी भईरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्