बेवारिसे भेटिएको शिशुको आमा पनि बेवारिसे अवस्थामै फेला
सिमराः बारा र रौतहटको सिमानमा पर्ने धन्सार पुल नजिकको सडकबाट बेवारिसे अवस्थामा फेला परेको शिशुको आमालाई पनि प्रहरीले बुधवार बिहान बेवारिसे अवस्थामा फेला पारेको छ ।
बच्चा फेला परेको स्थान नजिक रोएर हिडिरहेको अवस्थामा प्रहरीले चार महिने शिशुको आमालाई उद्धार गरेको हो । जंगलको बीचमा पर्ने सडकमा महिला रोएर हिडिरहेको खबर पाएपछि पुगेको ईलाका प्रहरी कार्यालय निजगढको प्रहरी टोलीले महिलालाई उद्धार गरी कार्यालय ल्याएको हो ।
प्रहरीका अनुसार उद्धार गरिएकी महिला भारत मोतिहारीकी हुन् । महिलाले आफ्नो घर मोतिहारी रहेको र श्रीमान्ले आफूसहित शिशुलाई ल्याएर जंगलमा छाडेको बयान दिएकी छिन् । श्रीमान्ले आफूलाई र शिशुलाई छुट्टाछुट्टै स्थानमा छोडेर जानकारी दिएकी छिन् ।
पानीले भिजेको अवस्थामा फेला परेकी महिलाको शारीरिक र मानसिक अवस्था कमजोर देखिएको प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । श्रीमान्ले जंगलको बीचमा छाडेर हिडेपछि महिला आफ्नो सन्तान खोज्दै हिडेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
महिलाले दिएको जानकारी अनुसार प्रहरीले उनको माइती पक्षलाई खबर गरेको छ । उद्धार गरिएकी महिलालाई प्रहरीले मंगलबार फेला परेको शिशुको तस्विर देखाएपछि उनि रुन थालेकी थिईन् । उनले आफ्नो छोरालाई भेटाईदिन प्रहरीलाई आग्रह गरेकी थिईन् । प्रहरी निरीक्षक श्रेष्ठले महिलाको माईती पक्ष आएपछि बच्चाको आधिकारिकता पुष्टि हुने र परिवारको जिम्मा लगाईने बताए ।
पुल नजिकको सडकबाट उद्धार गरिएको शिशुलाई कलैयास्थित प्रादेशिक अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ । सडकबाट उद्धार गरेलगत्तै अस्पताल लगिएको शिशुको स्वास्थ्य अवस्था सामान्य छ ।