पथलैया-वीरगन्ज व्यापारिक मार्ग भित्रको अनधिकृत बजारीकरण र पार्किङ हटाइने
सिमराः पथलैया-वीरगन्ज व्यापारिक मार्ग र फुटपाथ अतिक्रमण गरी विस्तार गरिएको बजारीकरण र अव्यवस्थित पार्किङ हटाइने भएको छ । बारा र पर्साका सरोकारवाला निकायबीच मंगलबार भएको बैठकले ६ लेनको उक्त मार्ग खाली राख्ने निर्णय गरेको हो ।
पथलैयास्थित व्यापारिक मार्ग विस्तारित योजनाको कार्यालयमा भएको बैठकले ६ बुँदे निर्णय गर्दै पथलैयादेखि गण्डकसम्मको सडक क्षेत्रमा निर्माण भएका पूर्वाधार, बजारीकरण गर्न राखिएका सामाग्री र अव्यवस्थित पार्किङ हटाउने निर्णय गरेको हो । उक्त कार्यको नेतृत्व व्यापारिक मार्ग आयोजनाको कार्यालयले गर्ने र सो कार्यमा जीतपुरसिमरा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, तराई यातायात व्यवसायी संघ र उद्योग वाणिज्य संघले सहयोग गर्ने भएको छ ।
यसैगरी बैठकले उद्योग कलकारखानाबाट निस्कने फोहोरजन्य पदार्थ, पानीलाई नालामा मिसाउने कार्य भईरहेको हुँदा सो कार्य रोक्ने, कोइला डिपोबाट निस्कने पदार्थ सडकमा छोड्ने र नालामा मिसाउने गरेको हुँदा त्यस्ता गतिविधिलाई समेत नियन्त्रण गर्ने निर्णय गरेको छ । पथलैयाÐवीरगन्ज व्यापारिक मार्गलाई सफा र प्रदुषणमुक्त बनाउन विभिन्न निर्णय गरेको बैठकले ओभरब्रिज निर्माणका लागि सिफारिस गर्ने समेत निर्णय गरेको छ ।
व्यापारिक मार्ग योजना प्रमुख दिपेन्द्र पाण्डेयको अध्यक्षतामा सम्पन्न छलफलमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उप्रमुख भोलाप्रसाद अधिकारी, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, परवानीपुर गाँउपालिका अध्यक्ष राम क्षत्री कुर्मी, प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगी, राष्ट्रिय अनुसन्धान कार्यालयका उप अनुसन्धान निर्देशक अभिनयकुमार सिंह, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्री, ट्राफिक प्रहरी निरीक्षक सुशिल आचार्य, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं. ७ का वडाध्यक्ष सुनिल गुप्ता, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, महासचिव प्रकाश गिरीलगायत सहभागी थिए ।
यस्तो छ बैठकले गरेको ६ बुँदे निर्णयः
१. यस योजना अन्तर्गत विस्तारको क्रममा रहेको पथलैया-सिमरा-जीतपुर-परवानीपुर-गण्डक सडकखण्डमा भएको अनाधिकृत पार्किङ्ग तथा बजारीकरणको कारणले हुन जाने दुर्घटना र भौतिक संरचनामा हुने क्षतिलाई मध्यनजर गरी आयोजनाको अगुवाईमा उद्योग वाणिज्य संघ, जीतपुरसिमरा उ.म.न.पा, तराइ यातायात व्यवसायी संघ, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको समन्वयमा सडक Clear गर्न पहल गर्ने ।
२. आयोजनाको पहलमा सडक किनाराको पार्किङ्ग तथा बजारीकरण हटाई सकेपछि त्यसबाट परेको प्रभावलाई विश्लेषण गरी जीतपुरसिमरा उ.म.न.पा. ले आवश्यक व्यवस्थापन गर्ने ।
३. Main lane देखि Service lane सम्म पहुँच सडकको जथाभवी माँग गरेको, अनाधिकृत रुपमा V Drain भत्काई पहुँच सडकको मापदण्ड विपरीत Slab ढलान गरेको साथै निर्माण कार्य भइसकेको Median भत्काई Opening गरीएकोले भत्किएको संरचना आयोजनाबाट निर्माण गर्ने साथै Road Accident लाई न्यून गर्न जिल्ला ट्राफिक कार्यालय र स्थानीय जनप्रतिनिधीबाट आवश्यक सहजीकरण गर्ने ।
४.Factory बाट निस्केका Waste material बिना कुनै Treatment गरी नालीमा मिसाउने कार्यलाई सम्बन्धित कलकारखानाबाट सोको आवश्यक Treatment गरी उचित व्यवस्थापन हुन उधोग बाणिज्य संघको सहयोगमा र जिल्ला प्रशासन कार्यालयबाट समन्वय गर्ने ।
५. कोइला डिपोबाट निस्केको Debris लाई सडकमै छोड्ने साथै नालीमा फाल्ने गरेकोले सडक भत्किने, नाली जाम हुने साथै पानी निकासामा समस्या हुने र धुलो प्रदुषण भइ सडक दुर्घटना हुने र स्थानीयको स्वस्थ्यमा समस्या हुने हुँदा जीतपुरसिमरा उ.म.न.पा, परवानीपुर गाँउपालिका, उद्योग वाणिज्य संघ र जिल्ला प्रशासन कार्यालयवाट समन्वय गर्ने ।
६. स्थान पहिचान भइसकेको ठाँउमा Over Bridge निर्माणको लागि सिफारिस गर्ने ।