वडा कार्यालयको नक्कली सिफारिस बनाएको आरोपमा एक जना प्रहरी नियन्त्रणमा
सिमराः नक्कली कागजात र हस्ताक्षर प्रयोग गरि किर्ते गरेको आरोपमा बाराको करैयामाईमा विहिबार एक जना पक्राउ परेका छन् । करैयामाई गाउँपालिका ८ स्थित वडा कार्यालयको लेटरप्याड, छाप र वडाध्यक्षको नक्कली हस्ताक्षर प्रयोग गरी किर्ते गरेको आरोपमा रौतहटका नवल किशोर सहनी पक्राउ परेका हुन् ।
गरुडा नगरपालिका ३ घर भएका सहनीमाथि वडाध्यक्षको नक्कली हस्ताक्षर प्रयोग गरेर घरबाटो प्रमाणितको सिफारिस पत्र बनाएको आरोप छ । मालपोत कार्यालय बारालाई सम्बोधन गर्दै २०७९ फागुन १८ गतेको मितिमा जारी गरिएको सिफारिस पत्र नक्कली रहेको वडाध्यक्ष चौधरीको भनाई छ ।
वित्तिय प्रयोजनका लागि गरिएको उक्त सिफारिस पत्र एक महिना भन्दा बढी पुरानो भएको र नयाँ बनाउनका लागि वडा कार्यालय पुगेका बेला सहनीलाई नियन्त्रणमा लिइएको हो । उक्त सिफारिस पत्रमा वडाध्यक्षको हस्ताक्षर शंकास्पद देखिएपछि छानविन गर्दा चलानी नम्बर समेत नमिनेको वडाध्यक्ष चौधरीले बताए ।
आफ्नो हस्ताक्षर नमिलेको र चलानी नम्बर समेत गलत रहेको भन्दै चौधरीले सहनीलाई प्रहरीको जिम्मा लगाएका थिए । बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले सिफारिस पत्रको विषयमा छानविन भईरहेको बताए । उक्त सिफारिस पत्र वडा कार्यालयबाटै लिएको र आफूले किर्ते नगरेको बयान सहनीले दिएको भन्दै प्रहरी उपरीक्षक बोगटीले छानविनपछि मात्रै प्रक्रिया अघि बढाईने जानकारी दिए ।