हतकडीसहित फरार लामा निजगढबाट पक्राउ


eShilalekh

१८ श्रावण २०८०, बिहीबार १९:३४

सिमराः हतकडीसहित फरार भएका जीतपुरसिमरा उपमहानगरपालिका १६ टांगियाबस्तीका सागर लामालाई प्रहरीले विहिबार साँझ निजगढबाट नियन्त्रणमा लिएको छ । साउन १६ गते टांगियाबस्तीस्थित घरबाट हतियारसहित पक्राउ परेको केही समयमै फरार भएका ३५ वर्षीय लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार लामा आत्मसमर्पण गर्नका लागि निजगढ पुगेका थिए । सोही क्रममा प्रहरीले निजगढबाट उनलाई नियन्त्रणमा लिएको हो । हतकडीसहित फरार रहेका लामालाई गोली हानेर नियन्त्रणमा लिन आदेश दिएपछि परिवारका सदस्य लामाको आत्मसमर्पणका लागि राजी भएको र सोही अनुसार निजगढ पुगेको प्रहरी उपरीक्षक बोगटीको भनाई छ ।

लामालाई नियन्त्रणमा लिँदा हतकडी काटेको अवस्थामा रहेको बोगटीले जानकारी दिए । हतकडीसहित फरार भएका लामालाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय बाराले सादा पोशाकमा समेत प्रहरी परिचालन गरेको थियो ।

वन्यजन्तु चोरीशिकारीमा संलग्न रहेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय निजगढको टोलीले लामालाई टांगियाबस्तीस्थित उनकै घरबाट दुई राउण्ड गोली लोड भएको भरुवा बन्दुक र बाघको दाँत, रौं, नंग्रा जस्तो देखिने वस्तुसहित नियन्त्रणमा लिएको थियो । लामालाई नियन्त्रणमा लिने लिएर फर्कने क्रममा स्थानीयले प्रहरीमाथी आक्रमण गरेपनि उनि हतकडीसहित फरार भएका थिए ।

प्रहरीको बाटो छेकेर स्थानीयले ढुंगा प्रहार गर्न थालेपछि लामा उम्किन सफल भएका थिए । सो क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो भने प्रहरीले स्थिती नियन्त्रणमा लिन पाँच राउण्ड हवाई फायर समेत गरेको थियो ।

स्थानीयसंग झडप हुँदा ईलाका प्रहरी कार्यालयमा कार्यरत बरिष्ठ प्रहरी नायब निरीक्षक कलमबहादुर शाही र प्रहरी सहायक निरीक्षक बलराम गिरी सामान्य घाईते भएका थिए । उनिहरुको शरिरमा चोट लाग्नुका साथै प्रहरी पोशाक च्यातिएको थियो ।

प्रतिक्रिया दिनुहोस्