सिमरामा अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता सुरु


eShilalekh

२६ श्रावण २०८०, शुक्रबार १४:५४

सिमराः बाराको सिमरामा शुक्रवार अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । जीतपुरसिमरा २ स्थित रोयल इभेन्ट मेनेजमेन्ट भेन्युमा प्रतियोगिता सुरु भएको हो ।

न्यु सिमरा तेक्वान्दो डोजाङद्धारा आयोजित प्रतियोगिताको उद्घाटन बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले मुलुकको समग्र विकासका लागि खेल क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए ।

उद्घाटन कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य गुरुप्रसाद गौतम, अन्तर्राष्ट्रिय रेफ्री जीतसिंह लामा, मधेस प्रदेश महासचिव राजकुमार लामा, नेपाल तेक्वान्दो संघ बाराका अध्यक्ष चित्रबहादुर लामा, होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष अर्जुन लम्साल, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, महासचिव प्रकाश गिरी, तेक्वान्दो प्रशिक्षक हेमलाल श्रेष्ठ, नेपाल सितेरियो कराँते संघ बाराका अध्यक्ष सानु पटेल, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैयाको व्यवस्थापन समितिका अध्यक्ष कल्याण आले, सिमरा फिटनेश सेन्टरका संचालक सुजन स्याङ्तान, नयाँ गोरेटो पुर्नस्थापना केन्द्रका बबिन सुब्बा, अर्जुन लामिछानेलगायतको उपस्थिती रहेको थियो ।

बारा, मकवानपुर र महोत्तरीको विभिन्न विद्यालयका एक सय ५० जना खेलाडीको सहभागिता रहेको प्रतियोगितामा २४ वटा तौलमा समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता शुक्रवार साँझ समापन हुने न्यु सिमरा तेक्वान्दो डोजाङका अध्यक्ष बिजय शाह ठकुरीले जानकारी दिए । ठकुरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको सहजीकरण रुवन थापाले गरेका थिए । कार्यक्रममा तेक्वान्दो संघका मधेस प्रदेश महासचिव लामाले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्