चुरियामाई दुर्घटनामा परी मृत्यु भएका सात जनाको सनाखत


eShilalekh

७ भाद्र २०८०, बिहीबार ०९:३७

सिमराः पथलैया-हेटौडा सडकखण्ड अन्तर्गत चुरियामाईको ओरालोमा बस दुर्घटना हुँदा मृत्यु भएका सात जनाको सनाखत भएको छ । मृतकमध्ये ६ जना भारतीय र एक जना नेपाली रहेका छन् ।

भारतीय तिर्थालु बोकेर काठमाण्डौबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको बस विहिबार बिहान जीतपुरसिमरा २२ स्थित चुरियामाईको ओरालोमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा भारत राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मिरादेवी, बैजन्तीदेवी, श्रीकान्त चतुर्वेदी, राजेन्द्र चतुर्वेदी, सत्यवती र महोत्तरी लोहारपट्टीका ४१ वर्षीय बिजयलाल पण्डित रहेका छन् ।

दुर्घटनामा १७ जना घाईते भएका छन् । घाइते हुनेमा भारत राजस्थानका घनश्याम चतुर्वेदी, माया देवी, अनिल कुमार, चारावती चुतर्वेदी, श्यामलाल माली, हरवारी माली, चौथी देवी, सुरेश चक्रवर्ती, रामप्रसाद, धरम सिंह, इन्दु धानुक, रामकुमार चतुर्वेदी, १६ वर्षीया गर्बिदा चतुर्वेदी र ९ वर्षीया क्रितिका चतुर्वेदी रहेका छन् । यसैगरी महोत्तरी जलेश्वरका बिहारी मुखिया, धनुषा मौवा गाँउपालिका १८ का घुरन मण्डल, महोत्तरी लोहारपट्टी ५ का जसबेन्दर पासवान घाइते भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ । प्रहरीका अनुसार घाइतेमध्ये एक एक जनालाई उपचारका लागि चितवन पठाइएको छ भने अन्यको हेटौडास्थित अस्पतालमा उपचार भईरहेको छ ।

प्रहरीका अनुसार १४ जनाको हेटौडा अस्पताल, एक जनाको चुरेहिल र एक जनाको सन्चो अस्पतालमा उपचार भईरहेको छ ।
पशुपति दर्शन गरेर महोत्तरी फर्कदै गरेको प्र-३-००१-ख ७९९४ नम्बरको बस चुरियामाईको ओरालोमा दुर्घटना भएको थियो । दुर्घटनालगत्तै फरार रहेका चालकलाई प्रहरीले धनुषाबाट नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्