जीतपुरसिमराका प्रथम नगर प्रमुख डा.कृष्ण पौडेलको जीवनी
सिमराः जीतपुरसिमरा उपमहानगरपालिको प्रथम नगर प्रमुख (मेयर) स्वर्गीय डा. कृष्ण पौडेलको जन्म विक्रम संवत् २०२९ साल फाल्गुन १० गते मकवानपुरको न्युरेनी चिसापानीमा भएको हो । बुवा रामप्रसाद पौडेल र आमा बिष्णुदेवी पौडेलको जेठो सन्तानको रुपमा जन्मिनुभएका डा. पौडेलको परिवारमा श्रीमती, एक छोरा, एक छोरीसहित चार भाईका परिवार र दुई बहिनी हुनुहुन्छ ।
सामान्य किसान परिवारमा जन्मनुभएका डा. पौडेलको बाल्यकाल र विद्यालय आरम्भ वंशगोपाल माध्यमिक विद्यालय चौघडामा भएको थियो । सामान्य किसान परिवार भएकाले पौडेल परिवारको आर्थिक आयस्रोत पनि कृषीनै रहेको थियो । सानैदेखी पढाईमा अब्बल डा. पौडेल फुर्सदको समयमा खेतको काममा बुवाआमालाई सघाउनुहुन्थ्यो । खेतबाट उब्जनी भएको बाली नै परिवारको गुजारा चल्ने प्रमुख आधार थियो ।
खेतीपाती र पढाईलाई संगसंगै अगाडी बढाउनुभएका पौडेलको परिवारले अभिभावकको रुपमा रहनुभएका बुवा रामप्रसाद पौडेललाई २० वर्षको उमेरमा गुमाउनुपर्यो । बुवाको निधनपछि जेठो सन्तानको रुपमा रहनुभएका डा. पौडेलको काधमाथी युवा अवस्थामै परिवारको जिम्मेवारी आईपर्यो । २०४६ सालमा डुमरवानामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट प्रवेशिका परिक्षा (एसएलसी) उतिर्ण गर्नुभयो ।
अध्ययनसंगै उहाँको रुची राजनीतिमा पनि क्रमश बढ्दै गएको थियो । २०४२ सालको जनपक्षिय निर्वाचन अभियानले राजनीतिमा आकर्षित गर्यो । उहाँ अनेरास्ववियूमा संगठित हुनुभयो । प्रवेशिका उतिर्ण भएपछि उहाँ २०४६ सालको जनआन्दोलनमा सक्रिय रुपमा सहभागी हुनुभयो । राजनीतिसंगै पढाईलाई अघि बढाउन उहाँ उच्च शिक्षा (प्रविणता तह) अध्ययनका लागि मकवानपुरको न्युरेनी फर्कनुभयो । न्युरेनीमा रहेको काकाको घरमा बसेर डा. पौडेलले मकवानपुर क्याम्पसमा अध्ययन गर्न थाल्नुभयो । २०४८ सालमा उहाँले प्रविणता तह उतिर्ण गर्नुभयो ।
राजनीतिमा अत्यन्तै रुची राख्ने उहाँले प्रविणता तहको अध्ययनकै बीचमा २०४७ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गर्नुभयो । डुमरवानाका युवाहरुलाई संगठित बनाउदै उहाकै नेतृत्वमा पार्टीले २०४८ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (प्ररायुसंघ) गठन गर्यो । जसको नेतृत्व गर्ने मौका उहाले प्राप्त गर्नुभयो । सोही सालमा उहाँ पार्टीको गाँउ कमिटी सदस्य बन्नुभयो । पढाई र राजनीतिलाई उहाँले सधै संगै अघि लग्न सफल हुनुभयो ।
पार्टीले सञ्चालन गरेका विभिन्न आन्दोलनमा उहाँको सहभागिता सक्रिय रहदै गयो । प्रविणता तह उतिर्ण भएपछि उहाँ थप शिक्षाका लागि काठमाण्डौ जानुभयो । काठमाण्डौमा रहेको नेपाल कमर्स क्याम्पसमा उहाँले ब्यवस्थापन संकायमा स्नातक तहमा भर्ना हुनुभयो । काठमाण्डौमै भएर पनि उहाँले जिल्लाको राजनीतिलाई छाड्नुभएन । २०५१ सालमा उहाँ पार्टीको डुमरवाना गाउ कमिटी सचिव बन्नुभयो ।
अध्ययन र राजनीतिमा ब्यस्त उहाँलाई घरबाट निकै सहयोग रहयो । भाईहरुले घर र खेतीको काममा आमा बिष्णुदेवीलाई सघाउन थालेपछि उहाँले आफ्नो समय राजनीतिमा खर्चिन थाल्नुभयो । तर जेठो सन्तान भएका कारण उहाँले अभिभावकत्व भने सधै निभाईरहनुभयो । भाईहरुलाई आवश्यक सल्लाह र मार्गदर्शन दिन उहाँले कहिल्यै छाड्नुभएन । २०५३ सालमा उहाँले नेपाल कमर्स क्याम्पसबाट स्नातक तह उतीर्ण गर्नुभयो ।
पढाईमा अब्बल उहाँले शैक्षिक क्षेत्रमा सफलता हासिल गर्दै अघि बढ्नुभयो । जसकारण उहाँलाई राजनीतिमा अघि बढ्न अझ सहज भयो । २०५४ सालको निर्वाचनमा उहाँ पार्टीको निर्वाचन परिचालन कमिटी डुमरवानाको सचिव र ईलाकाको उपसचिव बन्नुभयो । निर्वाचनपछि उहाँ पहिलो पटक पार्टीको जिल्ला कमिटी सदस्य बन्न सफल हुनुभयो । जसलाई उहाँले आफ्नो राजनीतिक सफलताको रुपमा लिनुभयो र पार्टीमा निरन्तर सक्रिय रहने अठोट लिदै अघि बढ्नुभयो । सोही समयमा उहाँले प्ररायुसंघको जिल्ला अध्यक्षको जिम्मेवारी समेत प्राप्त गर्नुभयो ।
यसबीचमा उहाँले स्नाकोत्तरको अध्ययन सुरु गर्नुभयो । स्नातक तह उतिर्ण गरेलगत्तै त्रिभुवन विश्वबिद्यालयमा उहाँले व्यवस्थापन संकायमै स्नाकोत्तर तहको अध्ययन थाल्नुभयो । अध्ययनका लागि उहाँले काठमाण्डौमा पत्रिका बेच्ने (हकर) भएर खर्च जुटाउन थाल्नुभयो । नेवारी भाषामा दैनिक साँझको समयमा प्रकाशित हुने पत्रिका बेचेर उहाँले पढाई निरन्तरता दिनुभयो । २०५८ सालमा उहाँले स्नातकोत्तर उतिर्ण गर्नुभयो ।
सोही वर्ष उहाँ बैवाहिक बन्धनमा बाधिनुभयो । बारा निजगढकी शर्मिला खनालसंग उहाँको बैवाहिक जीवन सुरु भयो । विवाहपश्चात उहाँको राजनीतिक यात्रा अझ सहज बन्दै गयो । २०५७ सालमा उहाँ प्ररायुसंघको केन्द्रीय सदस्य बन्नुभयो । २०५८ सलामा उहाँ पार्टीको जिल्ला सचिवालय सदस्य हुनुभयो । सोही समय उहाँले अध्ययनलाई पनि अघि बढाउदै लग्नुभयो । कानूनमा समेत रुची रहेका पौडेलले प्राइभेट अध्ययन गरेर २०६० सालमा स्नातक पुरा गर्नुभयो ।
निरन्तर अघि बढेको उहाँको राजनीतिक यात्रामा उहाँलाई पारिवारिक वाधा आइपरेन । उहाँले पार्टीको प्रचार बिभाग प्रमुख भएर १५ वर्ष भन्दा बढी समय काम गर्नुभयो । अतिनै महत्वपूर्ण जिम्मेवारीको रुपमा रहेको प्रचार बिभाग प्रमुख नेतृत्वमा रहदा उहाँको कार्यसम्पादनको सधै प्रशंसा रहयो । पार्टीको नियमित गतिविधिलाई आफै समाचार बनाएर सञ्चारमाध्यममा पठाउने उहाँको कलाले सञ्चार क्षेत्रमा समेत उहाँ परिचित हुनुभयो । राजनीतिक विषयमा कलम चलाउन दख्खल उहाँको थुप्रै लेख र रचना पत्रिकामा प्रकाशित हुन थाले ।
पार्टीको हरेक गतिविधिमा सक्रिय उहाँ २०६२।०६३ को जनआन्दोलनमा सक्रिय रहनुभयो । उहाँ पनि पार्टीको नेताको रुपमा आन्दोलनलाई अगुवाई गर्न थाल्नुभयो । जनआन्दोलन सुरु हुनुभन्दा अघि उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । २०६१ सालमा उहाँले २४ दिन वीरगन्ज कारागारमा जेलजीवन बिताउनुभयो । आन्दोलनको समयमा कयौंपटक गिरफतारीमा पर्नुभएका उहाँको राजनीतिक सफलता भने अघि बढ्दै आएको थियो । पार्टीको संगठन र छवि निर्माणमा निरन्तर र सक्रिय रुपमा योगदान गरेका कारण उहाँ पार्टीको एउटा खम्बाकै रुपमा स्थापित हुन सफल हुनुभयो ।
राजनीतिसंगै उहाँले अध्यापन (शिक्षण पेशा) लाई अगाडी बढाउन थाल्नुभयो । डमरवानास्थित विद्यालय र त्यसपछि सिमरा कलेजमा उहाँले लामो समय अध्यापन गराउनुभयो । सोही समय उहाँ सहकारी क्षेत्रमा जोडिनुभयो । २०६४ सालमा सिमरामा हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सुरुवात गर्दै उहाँले नेतृत्व लिनुभयो । सहकारी क्षेत्रमा उहाँको सक्रियता बढ्न थाल्यो । सहकारी क्षेत्रले बहन गर्नुपर्ने सामाजिक उत्तरदायित्व तथा आर्थिक, सामाजिक रुपान्तरणमा सहकारी क्षेत्रको भूमिका अहम र महत्वपूर्ण हुने भन्दै उहाँले त्यसको नेतृत्व गर्न थाल्नुभयो ।
रचनात्मक गतिविधिलाई निरन्तरता दिन थाल्नुभयो । हातेमालो सहकारीबाटै उहाले मध्यतराईको सहकारी क्षेत्रको आन्दोलनलाई अघि बढाउनुभयो । हातेमालोसंगै बारा जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्ष भएर जिल्लाको नेतृत्व गर्नुभयो । झण्डै एक दशक सहकारी क्षेत्रमा उहाँको सक्रियता निकै रहयो र उहाँलाई सहकारी अभियन्ताको रुपमा स्थापित गरायो । सहकारी अभियानबाटै मुलुकको बचत तथा ऋण सहकारी क्षेत्रको अगुवाई गर्ने नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड (नेफ्स्कुन) को सञ्चालक बन्नुभयो ।
सफलताको सिढी चढ्दै जाने क्रममा उहाँको परिवारमाथी २०६७ सालमा अर्को बज्रपात आई लाग्यो । मोटरसाईकल दुर्घटनामा परी आमा बिष्णुदेवी पौडेललाई गुमाउनुपर्यो । बुवाको स्वर्गारोहणपछि आफ्ना ६ सन्तानको अभिभावकको रुपमा रहनुभएका आमाको समेत निधन भएपछि पौडेलमाथी परिवारको सबै अभिभावकत्वको जिम्मेवारी आईपुग्यो । सानै उमेरमा बुवा र अल्पायुमै आमाको निधनपछिको शोकलाई शक्तिमा बदल्दै उहाँले आफ्नो गतिविधिलाई निरन्तरता दिन थाल्नुभयो । उहाँले २०७३ सालमा सहकारी सामाजिक उत्तरदायित्वमा विद्यावारिधि (पिएचडी) उतिर्ण गर्नुभयो । सहकारी अभियन्ताकै रुपमा उहाँका लागि विद्यावारिधि जीवनकै सबैभन्दा ठुलो उपलव्धि रह्यो । लेखापरीक्षण पेशामा समेत संलग्न पौडेल लेखापरीक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एशोसिएशनको प्रथम केन्द्रीय उपाध्यक्ष बन्नुभयो ।
विभिन्न संघसंस्थाको सफल नेतृत्व गर्दै अघि बढनु भएका पौडेलले शैक्षिक संस्था डुमरवाना बहुमुखी क्याम्पसको अध्यक्ष हुनुभयो । लेखाव्यवसायी र सहकारी क्षेत्रमा सक्रिय रहदा उहाँले विभिन्न मुलुकमा पुगेर अध्ययन तथा अवलोकन गर्ने अवसर प्राप्त गर्नुभयो । जापान, सिंगापुर, थाइल्याण्ड, दक्षिण कोरिया, पाकिस्तान, श्रीलंका, मलेशिया, भारतजस्ता देशमा पुगेर पुगेर सहकारी क्षेत्र अझ ब्यवस्थित र मुलुकको दिगो विकासमा सहकारी क्षेत्रले पुर्याउन सक्ने भूमिकाको बारेमा अध्ययन गर्नुभयो । अध्ययनका क्रममा सिकेका अनुभवलाई उहाँले नेपालको सहकारी क्षेत्रमा कार्यान्वयनका लागि आफ्नो सक्रियतालाई अगाडी बढाईराख्नुभयो ।
राजनीति र सहकारी क्षेत्रमा सक्रिय रहदा उहाँले लोकप्रियता हासिल गर्नुभयो । स्थानिय निर्वाचन हुने निश्चित भएसंगै पार्टीभित्र र स्थानिय स्तरमा उहाँको चर्चा चल्यो । शालिन र स्वच्छ छविका रुपमा झण्डै १० वर्ष हातेमालो सहकारीको नेतृत्व, पार्टीभित्रको निरन्तर सक्रियता र जनताबीच लोकप्रिय भएका कारण उहाँले नेकपा एमालेबाट जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखको उम्मेदवारी प्राप्त गर्न सफल हुनुभयो । विभिन्न क्षेत्रको नेतृत्व गर्दै आउनुभएका उहाँ आफ्नो एजेण्डा लिदै जनतामाझ पुग्नुभयो र २०७४ साल असोज २ गते जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखमा १४ हजार ८ सय ६५ मत प्राप्त गर्दै नगर प्रमुखको रुपमा निर्वाचित हुनुभयो । नगर प्रमुखमा निर्वाचित पौडेलले यसबीचमा मधेस प्रदेशको सचिव समेत हुनुभयो ।
असल राजनीतिज्ञ, सहकारी अभियन्ता, मृदुभाषी र बहुप्रतिभाशाली व्यक्तित्वको छवि स्थापित गर्नुभएका डा. पौडेलको २०८० साल असोज २५ गते ५१ वर्षको उमेरमा हृदयघातका कारण अल्पायुमै निधन भयो ।