लायन्स क्लबको स्वर्ण जयन्तीका अवसरमा वीरगन्जमा ‘लायन्स मार्ग’को उद्घाटन
सिमराः वीरगन्जस्थित नारायणी अस्पताल नजिकको बाइपास जोड्ने बाटोलाई लायन्स मार्गको नामले नामाकरण गरी उद्घाटन गरिएको छ । लायन्स क्लब अफ वीरगन्जको स्वर्ण जयन्तीको अवसरमा आइतवार आयोजित कार्यक्रमकाबीच वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले लायन्स मार्गको उद्घाटन गरेका हुन् ।
लायन्स मार्गको उद्घाटन गर्दै नगर प्रमुख सिंहले लायन्स क्लबले सामाजिक क्षेत्रमा गरेका कामको प्रशंसा गरेका थिए । आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिन आग्रह गर्दै निरन्तरता सिंहले लायन्स क्लबसंग सहकार्य गरेर अघि बढ्न महानगरपालिका तयार रहेको बताए ।
कार्यक्रममा लायन्स क्लब नेपालका मल्टिपल कोर्डिनेटर डा. रमेश कुमार अग्रवालले लायन्स क्लब समाजप्रति अझै उत्तरदायी भएर सक्रिय हुने बताए । स्थापना भएको ५० वर्षमा कम्तीमा ५० वटा उदाहरणीय काम गर्नुपर्ने बताउँदै अग्रवालले राधा देवी मेमोरियल स्कुलको स्तरोन्नतीका लागि आवश्यक बजेट बिनियोजन गर्न माग गरेका छन् ।
लायन अशोक कुमार बैद्यको संयोजकत्वमा भएको कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका गर्भनर डिएन अग्रवाल, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवाल, पूर्व गर्भनर डा. आरपी खेतान, डिष्ट्रिक्ट सेक्रेटरी बासु तिमिल्सिना, कोषाध्यक्ष रामबिहारी पाण्डे, एरिया ३ का चिफ उमेश शर्मा, क्लबका अध्यक्ष पप्पुकुमार श्रीवास्तवलगायतको उपस्थिती रहेको थियो ।