अन्तर्राष्ट्रिय आप्रवासी दिवसको पूर्वसन्ध्यामा सिमरामा दीप प्रज्वलन
सिमराः अन्तर्राष्ट्रिय आप्रवासी दिवसको पूर्वसन्ध्यामा आइतबार साँझ सिमरामा दीप प्रज्वलन गरिएको छ । आप्रवासी हकहित संजाल बारा र सुरक्षित आप्रवासन (सामी) परियोजनाले संयुक्तरुपमा दीप प्रज्वलन गरेको हो ।
‘आप्रवासीहरुको योगदानको कदर र उनीहरुको अधिकारको सम्मान’ नाराका साथ सोमबार यो दिवस नेपालमा पनि मनाईदै छ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउने थालिएको हो ।
यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चितता सम्बन्धी कानुनको चर्चा, सरकार तथा राजनीति दलहरुलाई यी विषयमा ध्यानाकर्षण, अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने गरेका छन् ।
दिवसका अवसरमा बारामा पनि आप्रवासी हकहित संजाल र सामी परियोजनाले कलैयामा कार्यक्रम गर्दैछ । पूर्वसन्ध्यामा गरिएको दीप प्रज्वलन कार्यक्रममा आप्रवासी हकहित संजाल बाराका अध्यक्ष रुद्र खतिवडा, सचिव शंकर सिंखडा, कोषाध्यक्ष सविता तिवारी, सदस्य कमला श्रेष्ठ, सामी परियोजनाका मनोसामाजिक परामर्शदाता अनुपा कार्कीलगायतको उपस्थिती रहेको थियो ।