सिम्रौनगढ घटनाः सर्वपक्षीय सहमतीपछि मृतक बिनको दाहसंस्कार गरियो


eShilalekh

२ पुष २०८०, सोमबार १०:४०

सिमराः प्रहरीको गोली लागेर मृत्यु भएका सिम्रौनगढ नगरपालिका १ का २५ वर्षीय लक्ष्मी मुखिया बिनको आइतबार साँझ दाहसंस्कार गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय सहमतिपछि पीडित परिवारले बिनको शव बुझेर मृत्यु भएको पाचौं दिनमा दाहसंस्कार गरेका हुन् ।

बिनको बुधवार सिम्रौनगढ नगरपालिका अगाडी प्रहरीको गोली लागेर मृत्यु भएको थियो । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर गराउने विषयमा झडप हुँदा प्रहरीले स्थिती नियन्त्रणमा लिन भन्दै गोली चलाएको थियो । घटनामा १० जना घाईते भएका थिए ।

बिनको मृत्यु भएपछि पीडित परिवारसहित स्थानीयले मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ति, घटनाको अनुसन्धान, दोषी प्रहरीमाथि कारवाहीलगायतको माग राखेर प्रदर्शन गर्दै आएका थिए । सोही घटनालाई लिएर नेपाली कांग्रेस क्षेत्र नं. १ को क्षेत्रीय समितिले पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध पारेको थियो ।

घटनापछि उत्पन्न अस्थिर परिस्थितीको अन्त्य गर्न बसेको सर्वपक्षीय छलफलमा सहमती भएको हो । छलफलमा बारा क्षेत्र नं. १ का सांसद अच्युत मैनाली, बारा क्षेत्र नं. ३ का पूर्वसांसद रामबाबु यादव, कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख कलवार, महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव, सिम्रौनगढ नगरपालिकाका पूर्व नगर प्रमुख बिजयशंकर यादव, बाराका प्रहरी उपरीक्षक सुरेश काफ्ले, वडाध्यक्ष अवधेश सहनीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, पीडित परिवारका सदस्यको उपस्थिती रहेको थियो ।

छलफलमा प्रमुख जिल्ला अधिकारीले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको संयोजकत्वमा तीन सदस्य छानविन समिति बनाएका छन् । समितिमा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्री, सशस्त्र प्रहरी नायब उपरीक्षक दिनेश शर्मा पंगेनी सदस्य छन् । समितिले १५ दिनभित्र घटनाको विषयमा छानविन गरी अनुसन्धान पेश गर्ने निर्णय भएको छ ।

यसैगरी मृतक बिनलाई सहिद घोषणाका लागि सिफारिस गर्ने, पीडित पक्षको तर्फबाट मंसिर २७ गते प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रलाई सम्बोधन गर्ने, नगरपालिकाको आन्तरिक विवादलाई समाधान गर्ने, शिक्षक र कर्मचारीको मागको उचित व्यवस्थापन गर्नेलगायतको विषयमा सहमती भएको छ ।

सहमतिपछि पीडित परिवारले बिनको शव बुझेका हुन् । मृतक बिनका एक छोरा र एक छोरी छन् । आर्थिक रुपमा कमजोर बिनको परिवार घटनापछि शोकमा छन् । बिनको दाहसंस्कारमा नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलगायतका कांग्रेसका नेताहरु उपस्थित थिए ।

लामो समयदेखि आन्तरिक विवादमा कारण नगरपालिका भित्रको अस्पताल १७ महिनादेखि बन्द छ भने शैक्षिक संस्था पठनपाठन र कार्यालयले प्रदान गर्ने सेवा दुई महिनायता ठप्प छ । नगरपालिकाको नगरसभा समेत सम्पन्न हुन सकेको छैन । नगरसभा नहुँदा कर्मचारीले तलब पाएका छैनन् । तलब नपाएको भन्दै शिक्षक र कर्मचारीले दुई महिनादेखि नगरपालिकामा धर्ना दिदै आएका थिए ।

यो पनि पढ्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्