बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश
सिमराः सर्लाही जिल्ला अदालतले तपस्वी भनिएका बाराका रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायधीस विष्णु रेग्मीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परेका बम्जनलाई बिहीवार जिल्ला अदालतमा पेश गरिएको थियो । उनिमाथि अनुयायी बेपत्ता र यौनहिंसाको आरोप छ । अदालतमा पेश गरिएका बम्जनका तर्फबाट पाँच जना र वादीको तर्फबाट दुई जना वकिलले बहस गरेका थिए । बहसपछि न्यायधीस रेग्मीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
अनुयायी बेपत्ता र यौनहिंसाको आरोपमा सर्लाही जिल्ला अदालतले २०७६ माघ २३ गते बम्जनलाई पक्राउ गर्न आदेश दिएको थियो । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनि चार वर्षदेखि लुक्दै आएका थिए ।
प्रहरीको खोजीको सुचिमा रहेका बम्जनलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले मंगलबार साँझ बुढानिलकण्ठस्थित घरबाट पक्राउ गरेको थियो । उनलाई पक्राउ गर्न सिआइबीले ‘अप्रेशन ब्लु’ चलाएको थियो ।