नव जनजागृति युवा क्लबको वार्षिक साधारणसभा सम्पन्न
सिमराः नव जनजागृति युवा क्लबको १६औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । जीतपुरसिमरा गोल्डकप आयोजनास्थल सिमरा रंगशालामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाको जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले उद्घाटन गरेका थिए । साधारणसभाको उद्घाटन गर्दै नगर प्रमुख पौडेलले खेलकुदको विकास अपरिहार्य रहेको र यसका लागि उपमहानगरपालिकाले सहकार्य गरिरहेको बताए ।
साधारणसभामा नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले खेलकुद क्षेत्रको विकासका लागि उपमहानगरपालिकाको कार्यालयले योजनासहित अघि बढिरहेको बताएका छन् । साधारणसभामा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउँले, क्लबका सल्लाहकार निरु रायमाझी, धर्मबहादुर श्रेष्ठलगायतले मन्तब्य राखेका थिए ।
साधारण सभाको उद्घाटन सत्रमा क्लबका पूर्वअध्यक्ष कासिम मियाँ, राजकुमार भट्टराई, विनोद गुप्ता, राजकुमार लामा, किशोर त्रिपाठी, शिव पौडेल, प्रेम बराल, अनिता लम्साल अधिकारी, शोभा कार्की, क्लबका उपाध्यक्ष शंकर थापा, महासचिव शम्भुसिंह ठकुरीलगायतको उपस्थिती रहेको थियो ।
क्लबका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सहजीकरण श्याम सुवेदीले गरेका थिए भने निराजन थापाले स्वागत मन्तब्य राखेका थिए । साधारणसभाको बन्दसत्रले कोषाध्यक्ष शालिकराम अधिकारीको लेखा प्रतिवेदन बहुमतसहित पास गरेको छ ।