मुसहर बस्ती पुगे पूर्वराजा ज्ञानेन्द्र
सिमराः पूर्वराजा ज्ञानेन्द्र शाह शनिवार जीतपुरसिमरा उपमहानगरपालिका ६ स्थित मुसहर बस्ती पुगेका छन् । करिब दुई सातादेखि सिमरामा रहेका पूर्वराजा शाह परिवारका सदस्य लिएर बस्ती पुगेका हुन् ।
प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले गत असोज १२ गते मुसहर समुदायका २० परिवारलाई उक्त बस्ती हस्तान्तरण गरेको थियो । पूर्वराजपरिवार भित्रका सदस्यले निर्माण गरी हस्तान्तरण गरेको बस्ती अवलोकन गर्न पूर्वराजा पुगेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्रसंग पत्नी कोमल, छोरी प्रेरणालगायत पूर्वराजपरिवाका सदस्य सहभागी थिए । बस्तीमा निर्माण भएको घरभित्र पसेर पूर्वराजदम्पतीले मुसहर समुदायका नागरिकसंग भलाकुसारी गरेका थिए । बस्तीमा एक घण्टा बिताएका उनिहरुले चिया समेत पिएका थिए ।
पूर्व राजपरिवारको स्वागतमा मुसहर समुदायका युवायुवतीले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । यसअघि पूर्वराजदम्पतीलाई बस्तीमा बसोबास गर्ने २० वटै घरका परिवारका सदस्यले स्वागत गरेका थिए ।
सो क्रममा बस्तीमा बसोबास गर्ने नागरिकका लागि दिवाभोजनको व्यवस्थापन गरिएको थियो । पूर्वराजाले दिवाभोजनका लागि बनाइएको परिकार समेत हेर्न भ्याएका थिए । उनले बस्तीका नागरिकलाई खाना खान आग्रह गरिरहेका थिए ।
पूर्वराजालाई बस्तीमा स्वागत गर्न पाउँदा मुसहर समुदायका नागरिक खुशी देखिन्थे । चुहिएको घरमा कष्टकर जीवन विताईरहेका २० परिवारका लागि प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले पाँच करोड भन्दा बढीको लागतमा बस्ती नै निर्माण गरेर हस्तान्तरण गरेको हो ।
उक्त बस्तीमा २० वटा घर छ । सात धुर जमिनमा निर्माण भएको एउटा घर तीन कोठाको छ भने प्रत्येक घरलाई छुट्टै शौचालय र चापाकलको व्यवस्था गरिएको छ । ऐलानी जग्गामा बसोबास गर्दै आएका मुसहर समुदायका २० परिवार त्यसयता सोही बस्तीमा बस्दै आएका छन् ।
यो पनि पढ्नुहोस्ः