बारा प्रहरीद्वारा अर्का एक भारतीय सुटर पक्राउ


eShilalekh

८ माघ २०८०, सोमबार २२:११

कलैया: पाँच महिना अघि बाराको पचरौता नगरपालिका ६ लक्ष्मिनियामा भएको भारतीय युवक हत्या प्रकरणका अर्का एक सुटरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी दर्पा थाना ग्राम पन्चायत तीनकोनी १ सुक्लहियाका २२ वर्षीय रुपेशकुमार महतो रहेका छन् ।

रुपेशलाई गत असोज ९ गते पचरौतामा भारत मोतिहारी दर्पा थाना ग्राम पन्चायत तीनकोनी १ सुक्लहियाका २२ वर्षीय अजितकुमार सिंहलाई गोली प्रहार गरी हत्या गरेको आरोपमा नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन् । रुपेशलाई कलैया उपमहानगरपालिका १० बाट नियन्त्रणमा लिएको न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार पक्राउ परेका रुपेश भारतीय सुटर भनिएका सुजितकुमार सिंह समूहका सदस्य हुन् ।अजितलाई गोली प्रहरी गर्दा सुजित र रुपेश संगै रहेको प्रवक्ता न्यौपानेको भनाइ छ । प्रहरीले यसअघि पुष १० गते सुजितलाई खुट्टामा गोली प्रहार गरी बिश्रामपुरबाट नियन्त्रणमा लिएको थियो ।

भारत मोतीहारीका सुजितमाथी कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्या गरेको आरोप छ । सर्राफको कार्तिक १३ गते कलैयाको व्यस्त सडकमा गोली प्रहार गरी हत्या भएको थियो ।

सर्राफ हत्या प्रकरणमा जिल्ला अदालत बाराले ६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्