मनहर्वा गोल्डकपको तेस्रो संस्करण सुरु, मुख्यमन्त्री यादवले गरे उद्घाटन


eShilalekh

१३ माघ २०८०, शनिबार १६:४८

सिमराः मनहर्वा गोल्डकपको तेस्रो संस्करण शनिबारदेखि सुरु भएको छ । जीतपुरसिमरा १८ स्थित मौवादेवी युवा क्लबको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले मौवादेवी खेल मैदानको स्तरोन्नतीका लागि तत्काल ५० लाख बजेट विनियोजन गर्ने र आगामी वर्षको योजनामा समेटेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन ।

मुख्यमन्त्री यादवले लागूऔषधमुक्त समाज निर्माणका लागि निजगढमा सुधार केन्द्र भवन निर्माण गरिने समेत बताएका छन् । उद्घाटन समारोहमा मधेस प्रदेशकी खेलकुद मन्त्री सुरिताकुमारी साहले प्रतियोगिताका लागि मन्त्रालयबाट चार लाख उपलब्ध गराउने बताएकी छिन् ।

कार्यक्रममा बारा क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री ज्वालाकुमारीले प्रदेश सरकारसँग संमन्वय गरेर अघि बढ्न आफू तयार रहेको बताईन । कार्यक्रममा पूर्वसांसद रामबाबु यादव, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, जीतपुरसिमरा १८ का वडाध्यक्ष चर्तुरबाबु वाग्ले, वडा नं. १६ का अध्यक्ष हरिदेव खरेललगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको उद्घाटनसत्र मौवादेवी युवा क्लबका अध्यक्ष निर्मलकुमार यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।

माघ २० गतेसम्म आयोजना हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मौवादेवी युवा क्लव र नमस्ते युवा क्लव हरीवन सर्लाहीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्