ट्रिपरको ठक्करबाट राष्ट्रिय अनुसन्धानका पूर्व डिएसपीको मृत्यु
सिमरा: ट्रिपरको ठक्करबाट बुधवार राति राष्ट्रिय अनुसन्धान विभागका पूर्व अनुसन्धान अधिकृत (डिएसपी) विष्णु थापाको बुधबार राति मृत्यु भएको छ ।
बाराको मानमत-मटिअर्वा सडकखण्ड अन्तर्गत उत्तरझिटकैयामा ट्रिपरले ठक्कर दिदा मोटरसाइकलमा सवार थापाको मृत्यु भएको हो ।
पिलुवाबाट कलैयातर्फ जाँदै गर्दा थापा सवार ना३०प ९८३० नम्बरको मोटरसाइकललाई ना८ख २१९५ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते ६० वर्षीय थापाको उपचारका क्रममा कलैयास्थित राजलक्ष्मी अस्पतालमा मृत्यु भएको हो ।
थापाको शव कलैया प्रादेशिक अस्पतालमा शल्यपरिक्षणका लागि राखिएको छ । थापा सवार मोटरसाइकललाई ठक्कर दिने ट्रिपरका चालक फरार छन् ।
यसैगरी बुधबार बिहान बाराको सुवर्ण गाउँपालिका ३ सतगंजमा भएको सवारी दुर्घटनामा दुइ वर्षीया बालिकाको मृत्यु भएको छ ।
कलैयाबाट सतगंजतर्फ जाँदै गरेको ना ३ ख ९९९० नम्बरको यात्रुबाहक बसबाट ओर्लिने क्रममा कलैया उपमहानगरपालिका ८ मदर्सा टोलका मुना साहकी छोरीको मृत्यु भएको हो ।
बसबाट ओर्लिने क्रममा बालिकालाई बसले किचेको थियो । बालिका आमासंग त्यही बसमा बसेर मामाघर भारततर्फ जाँदै थिइन् । घटनालगत्तै परिवार र स्थानीयले बसमा तोडफोड गरेका थिए ।
प्रहरीले बसका चालक ४० बर्षीय मुरारी चौधरीलाई नियन्त्रणमा लिएको छ ।