मधेसको चार जिल्लाका प्रहरी प्रमुख फेरिए, पथलैया ट्राफिक कार्यालयमा बोगटी आउँदै


eShilalekh

२ फाल्गुन २०८०, बुधबार १४:३५

सिमराः प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षकको सरुवा गर्दा मधेसको चार जिल्लाका प्रहरी प्रमुख फेरिने भएका छन् । प्रहरी प्रधान कार्यालयले पर्सा, महोत्तरी, धनुषा र सिरहाको प्रहरी प्रमुखको सरुवा गरेको हो ।

सरुवाअनुसार पर्सामा प्रहरी उपरीक्षक कोमल शाहको स्थानमा कुमोद ढुंगेल आउने भएका छन् । ढुंगेल जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । शाहको नेपाल प्रहरी प्रधान इन्टरपोल शाखा काठमाडौंमा सरुवा भएको छ ।

यसैगरी महोत्तरीमा प्रहरी उपरीक्षक श्यामकुमार राई आउने भएका छन् । प्रहरी उपरीषक प्रकाश मल्लको स्थानमा आउन लागेका राई बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए । मल्लको नेपाल प्रहरीको केन्द्रीय महिला तथा बालबालिका शाखामा सरुवा भएको छ ।

धनुषामा प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा आउने भएका छन् । प्रहरी उपरीक्षक विश्वराज खड्काको स्थानमा शर्मा आउन लागेका हुन् । शर्मा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण तथा योजना विकास निर्देशनालयमा कार्यरत थिए । खड्काको काटमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखा रामशाहपथमा सरुवा भएको छ ।

सिरहामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्वेषण योजना विकास महाशाखाबाट प्रहरी उपरीक्षक सन्तोष आचार्य आउने भएका छन् । आचार्य प्रहरी उपरीक्षक टेकुनन्द ईवा लिम्बुको स्थानमा आउन लागेका हुन् । लिम्बुको विशेष ब्युरो राजनीतिक अन्वेषण शाखा नक्साल काठमाडौंमा सरुवा भएको छ ।

यसैगरी नेपाल प्रहरी राजमार्ग तथा सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईको नेपाल प्रहरी प्रधान कार्यालय कानुन शाखा नक्सालमा सरुवा भएको छ । भट्टराईको स्थानमा प्रहरी उपरीक्षक भिमकिरण बोगटी आउने भएका छन् । बोगटी बागमती प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रवन्ध महाशाखामा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्