वीरगन्जमा सामाजिक सद्भाव बिग्रन नदिने सर्वपक्षीय बैठकको निर्णय


eShilalekh

८ फाल्गुन २०८०, मंगलवार १७:३३

सिमराः वीरगन्जमा उत्पन्न विवाद समाधान गर्न बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भाव बिग्रन नदिन सामुहिक प्रयास गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साको कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सामाजिक एकता विखण्डन हुन नदिन र सामाजिक सद्भाव कायम राख्नका लागि सामूहिक प्रयास गर्ने गरी पाँच बुँदे निर्णय गरेको हो ।

बैठकले सयौं वर्ष देखिको सामाजिक एकतालाई विखण्डन गर्न भईरहेको प्रयासलाई विफल तुल्याउने र त्यस्ता गतिविधिमा संलग्न भएको जो कोहीलाई पनि कानुनी दायरमा ल्याएर कारवाहीको भागिदार बनाउन प्रशासनलाई सहयोग गर्ने निर्णय समेत गरेको छ । विभिन्न जातजाती, भाषा, धर्म र समुदायबीको एकताले सामाजिक सद्भाव बलियो हुने भन्दै बैठकका सहभागीले सामाजिक संजालमा नकारात्मक सामाग्री नराख्नका लागि सार्वजनिक अपिल गर्ने निर्णय समेत गरेका छन् ।

जिल्लाको शान्तिसुरक्षामा खलल पुग्ने, धार्मिक र सामाजिक सदभाव विथोल्ने गरी धार्मिक तथा साम्प्रदायिक र्याली, जुलुस, बन्द हडताल लगायतका गतिविधि नगर्न राजनीतिक दल, नागरिक समाज र संघसंस्थाले सहयोग गर्ने सहमती समेत बैठकमा भएको छ ।

रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुरमा फाल्गुन ३ गते भएको घटनालाई लिएर वीरगन्जमा सोमबारदेखि दिउँसोदेखि दुई पक्षबीच विवाद हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । मंगलबार बिहान चार घण्टाका लागि खुल्ला गरिएको कर्फ्यु अहिले पनि जारी छ । सोमबार साँझ ५ बजेदेखि कर्फ्यु आदेश लगाएको स्थानीय प्रशासनले मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि खुल्ला गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मित्तेरीपुल (भन्सार) क्षेत्रभित्र कर्फ्यु लगाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा बसेको बैठकमा प्रतिनिधिसभा सदस्य प्रदीप यादव, प्रदेश सरकारका पर्यटन राज्यमन्त्री रहबर अन्सारी, वीरगन्ज महानगरका मेयर राजेशमान सिंहसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

तस्वीरहरुः क्रान्ति साह, राधेश्याम पटेल

प्रतिक्रिया दिनुहोस्