कलैयामा बुधबार सर्वपक्षीय ‘सद्भाव र्‍याली’ हुने


eShilalekh

८ फाल्गुन २०८०, मंगलवार २०:२०

कलैैयाः बाराको कलैयामा बुधवार बिहान सर्वपक्षीय सद्भाव र्‍याली हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बाराको अगुवाईमा बिहान ७ः३० बजे सद्भाव र्‍याली हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय परिसरबाट निस्कने सद्भाव र्‍यालीमा सहभागी हुन् कार्यालयले अपिल गरेको छ । पछिल्लो समय केही जिल्लामा सामाजिक सद्भाव बिग्रने गतिविधि देखिएको भन्दै कार्यालयले सामाजिक एकता बलियो रहेको सन्देश प्रवाह गर्न सद्भाव र्‍यालीको आयोजना गरेको हो ।

‘जिल्ला प्रशासन कार्यालय परिसर कलैयाबाट सर्वपक्षीय सद्भाव र्‍याली आयोजना गरिएको हुँदा सबै राजनीतिक दल, जनप्रतिनिधि ,धार्मिक संघसंस्था, नागरिक समाज, सञ्चारकर्मी, शिक्षक, कर्मचारी, सुरक्षाकर्मी, स्थानिय क्लबलगायत आम बारा निवासी दिदीबहिनी, दाजुभाइलाई र्‍यालीमा उपस्थित भई सामाजिक सद्भाव कायम गर्ने कार्यमा योगदान पुर्‍ याउनुहुन हार्दिक अनुरोध छ’ जिल्ला प्रशासन कार्यालय बाराको अपिलमा भनिएको छ ।

कार्यालयले यसअघि बाराका राजनीतिक दलका नेतृत्व र प्रतिनिधिसंग सामाजिक सद्भाव बिग्रन नदिनका लागि दलिय भूमिका निर्वाह गर्ने सम्बन्धमा छलफल समेत गरेको छ । छलफलमा सामाजिक सद्भाव र एकता बिग्रन नदिने प्रतिवद्धता जनाएका राजनीतिक दलले संयुक्त अपिल समेत जारी गरेका थिए ।

बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेको अध्यक्षतामा बसेको बैठकमा ज्वाला दल गणका प्रमुख सेनानी कुमार खड्का, बाराका प्रहरी उपरीक्षक सुरेश काफ्ले, सशस्त्र प्रहरी उपरीक्षक सन्तोषबहादुर सिंह, राष्ट्रिय अनुसन्धानका उप-अनुसन्धान निर्देशक दीपक खड्कालगायत विभिन्न राजनीतिक दलका नेतृत्व तथा प्रतिनिधिको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्