निजगढमा गाडी मर्मत गर्ने कारखानामा शंकास्पद वस्तु विष्फोट, पाँच घाइते


eShilalekh

१४ फाल्गुन २०८०, सोमबार १४:२८

सिमराः बाराको निजगढस्थित गाडी मर्मत गर्ने (कारखाना) ग्यारेजमा सोमबार शंकास्पद वस्तु विष्फोट हुँदा पाँच जना गम्भीर घाइते भएका छन् । निजगढ नगरपालिका ७ स्थित रोहित वर्कशपमा विष्फोट हुँदा पाँच जना घाइते भएका हुन् ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । विष्फोटबाट उनिहरुको शरीरको भाग क्षतविक्षत अवस्थामा रहेको प्रत्यक्षदर्शीले बताएका छन् । घाईतेलाई निजगढस्थित सामुदायिक अस्पतालबाट थप उपचारका लागि वीरगन्ज लगिएको छ ।

गम्भीर घाइते हुनेमा निजगढ नगरपालिका ७ का कारखाना संचालक ४५ वर्षीय रेशम मगर, भारत घर भएका २० वर्षीय अरविन साह, ३५ वर्षीय राकेश जैसवाल, ठेगाना नखुलेका २० वर्षीय रितु रजत र निजगढ नगरपालिका ५ का ४५ वर्षीय सुर्यबहादुर थापा रहेका छन् । घाइतेमध्ये थापाको अवस्था सामान्य छ ।

यता घाइते भएकामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको भन्ने जानकारी आएपनि पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्रवक्ता दधिराम न्यौपानेले घाइतेमध्ये एक जनाको मृत्यु भएको जानकारी आएपनि पुष्टि हुन बाँकी रहेको बताए ।

विष्फोट भएको उक्त वस्तु के हो भन्ने खुल्न सकेको छैन । प्रहरी प्रवक्ता न्यौपानेले लेथमा फलाम काट्ने क्रममा विष्फोट भएको भन्ने प्रारम्भिक जानकारी आएको र घटनाबारे थप अनुसन्धान भईरहेको बताए ।

‘पहिला घाइतेलाई उद्धार गरि अस्पताल पठाएका छौं’ न्यौपानेले भने ‘अहिले घटनास्थलमा खटिएका प्रहरीले विष्फोट भएको वस्तु के हो भन्ने अनुसन्धान गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्