बालबालिकाले समेत खेलाएका थिए निजगढमा विष्फोट भएको वस्तु


eShilalekh

१५ फाल्गुन २०८०, मंगलवार १२:१०

सिमराः निजगढ नगरपालिका ९ मा बसेर कवाडीको कारोबार गर्दै आएका राज भनिने रमेश जैसवालले उक्त वस्तु केही दिन घरमै राखेको समेत खुलेको छ । गुडाउन मिल्ने उक्त फलामको वस्तु बालबालिकाले समेत खेलाएका थिए ।

बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार केही दिन कवाडीको कारोबार गर्ने व्यक्तिको घरमा साना बालबालिकाले खेलाएको र पछि तामा झिक्नका लागि भन्दै जैसवालले ग्यारेजमा लगेका हुन् । घटनापछि फरार भएका उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनिसंगै उक्त वस्तु बेच्ने निजगढ ९ का टिकाराम पाख्रीनलाई समेत प्रहरी नियन्त्रणमा लिएको छ ।

प्रहरी उपरीक्षक काफ्लेले अज्ञानताको कारण उक्त घटना भएको बताएका छन् । ‘उक्त वस्तु घरमै राखेको र बच्चाले खेलाएको भन्ने प्रारम्भिक अनुसन्धानबाट बुझियो’ काफ्लेले भने ‘केही दिन पछि ग्यारेजमा लगेर काट्न लगाईयो । ग्यारेज संचालकले पनि उक्त वस्तु के हो भनेर अनुमान लगाउन सकेनन् । यो सबै अज्ञानताको कारण हो ।’

प्रहरी उपरीक्षक काफ्लेले उक्त वस्तु के हो र कसरी आईपुग्यो भन्नेमा अनुसन्धान भईरहेको बताए । उक्त वस्तु मिसाइलमा प्रयोग हुने प्रोजेक्टाइल रहेको आशंका गरिएपनि प्रहरी उपरीक्षक काफ्लेले अहिले भन्न नमिल्ने बताए । ‘प्रोजेक्टाइल हो वा होइन भन्ने विषय ल्याब परिक्षणपछि मात्रै भन्न सकिन्छ’ काफ्लेले भने ।

सम्बन्धित समाचारः

प्रतिक्रिया दिनुहोस्