निजगढमा मृत भेटियो पाटे बाघ, तीन वर्षमा चार वटा बाघको मृत्यु


eShilalekh

२२ फाल्गुन २०८०, मंगलवार २०:१८

सिमराः बाराको निजगढ नगरपालिका ४ स्थित कछडिया सामुदायिक वन क्षेत्रमा मंगलबार एउटा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । वन क्षेत्रको बकैया खोला नजिकको जंगलमा बाघ मृत अवस्थामा भेटिएको हो ।

स्थानीयले मृत बाघ देखेपछि निजगढस्थित सवडिभिजन वन कार्यालयमा खबर गरेका थिए । स्थानीयको सूचनापछि पुगेको पर्सा राष्ट्रिय निकुञ्ज र वनको प्राविधिकसहितको टोलीले बाघको शव उठाएको थियो । प्राविधिकका अनुसार चार–पाँच दिन अघि नै बाघको मृत्यु भएको जस्तो देखिएको र मृत्युको कारण भने परिक्षणपछि मात्रै खुल्नेछ ।

परिक्षणका लागि शरिरको ‘स्याम्पल’ लिएर बाघलाई वन कार्यालय हाताभित्र गाडिएको छ । डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले बाघलाई गाडिएको र शवको स्याम्पल परिक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा पठाइने जानकारी दिए ।

पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले डिभिजन वन कार्यालय अन्तर्गतको क्षेत्रमा बाघ मृत भेटिएको भन्ने सूचना आएपछि प्राविधिक पठाइएको बताए । उनले बाघको मृत्युको कारण परिक्षणपछि नै खुल्ने बताए ।

यता निकुञ्जको खोरमा उपचाररत एउटा पाटेबाघको एक साताअघि मृत्यु भएको थियो । घाइते अवस्थामा रहेको उक्त बाघलाई ११ महिनाअघि ठोरीबाट ‘डार्ट’ गरि ल्याएको र खोरमा राखेर उपचार गरिरहेका बेला मृत्यु भएको भगतले जानकारी दिएका छन् ।

यो संगै पछिल्लो तीन वर्षमा बारामा चार वटा बाघको मृत्यु भएको छ । यसअघि २०७९ असोज १४ गते काठमाण्डौ–तराई (मधेस) द्रुतमार्ग अन्तर्गत निजगढमा एउटा पाटे बाघ ‘डिहाईड्रेसन’ का कारण मरेको थियो भने २०७७ पुष १८ गते पथलैया–अमलेखगञ्ज सडकखण्डमा कारको ठक्कुरबाट एउटा बाघको मृत्यु भएको थियो ।

सन् २०२२ मा गरिएको गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा बाघ देखिएको थियो ।

आधाभारमा कारको ठक्करबाट मारिएको बाघ ।

निकुञ्जमा उपचारका क्रममा मृत्यु भएको बाघ ।

द्रुतमार्गमा मृत भेटिएको बाघ ।

प्रतिक्रिया दिनुहोस्