बालिका करणीपछि हत्या अभियोगमा आमा र छोरा पक्राउ


eShilalekh

३ माघ २०७८, सोमबार १०:४२

कलैया: बाराको आदर्श कोतवाल गाउँपालिका ७ कोतवालीकी ९ वर्षिया बालिकाको करणीपछि हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आमा र छोरा रहेका छन् ।

गत आईतवार घरबाट बाख्रा चराउन गएकी बालिकाको शव दुई दिनपछि स्थानिय जमुनी खोलामा मृत अवस्थामा फेला परेको थियो । घटनापछि अनुसन्धान थालेको प्रहरीले आदर्श कोतवाल ८ का २० वर्षिय सन्तोष साह कानु र उनकी आमा ४० वर्षिय शान्ति देवीलाई पक्राउ गरेको हो ।

सन्तोषले बालिकाको बलत्कार गरी हत्या गरेको र उनकी आमा शान्ति देवीले प्रमाण लुकाउन मद्यत गरेको प्रहरीको निष्कर्ष छ । प्रक्राउ परेका दुवै जनालाई ज्यान मुद्यासम्बन्धी कसुरमा कारवाही प्रक्रिया अगाडी बढाइएको बाराका प्रहरी उपरिक्षक राजेश थापाले जानकारी दिएका छन् ।
गाउँमै बाख्रा चराउन गएकी बालिका पानि पिउनका लागि आरोपित सन्तोषको कुखुरा फारमतर्फ गएकी थिईन् । स्थानियले समेत बालिकालाई फारमतर्फ गएको देखेको प्रहरीलाई जानकारी दिएका थिए । फारमतर्फ गएकी बालिका त्यहाँबाट फर्किएको प्रमाण नभेटेपछि प्रहरीले कुकुरको सहायताबाट अनुसन्धान शुरु गरेको थियो ।

अनुसन्धानबाट बालिकाको जबरस्ती करणी गरी हत्या भएको घटनामा आमा र छोराको संलग्नता रहेको निष्कर्ष प्रहरीको छ । पक्राउ परेका सन्तोषले करणीपछि हत्या गरेको आरोप स्विकार गरेको प्रहरीको भनाई छ ।
घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब उपरिक्षक ज्ञानकुमार महतोको टोली समेत बारा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्