सिमरा खानेपानीको निर्वाचन कार्यक्रम स्थगित


eShilalekh

८ माघ २०७८, शनिबार २१:५३

सिमरा: कोरोना संक्रमणको जोखिमका कारण खानेपानी उपभोक्ता तथा सरसरफाई समिति सिमराको निर्वाचनको सम्पूणर् कार्यक्रम स्थगित भएको छ । सरकारले कोभिड नियन्त्रणका लागि जारी गरेको सुरक्षा मापदण्डको पालना गर्दै निर्वाचन कमिटीले नयाँ नेतृत्व चयन प्रक्रिया स्थगन गरेको हो ।

निर्वाचन स्थगन गर्नुअघि कमिटीले शनिवार सर्वपक्षिय छलफलको आयोजना गरेको थियो । सिमरास्थित खानेपानी उपभोक्ता समितिको कार्यालयमा भएको छलफलका सहभागीले तत्काल नयाँ नेतृत्व चयनको प्रक्रिया स्थगन गर्न सुझाएका थिए । सर्वपक्षिय छलफलपछि प्रमुख निर्वाचन अधिकृत मदनबहादुर क्षेत्रीको संयोजकत्वमा गठित कमिटी निर्वाचन कार्यक्रम तत्काल स्थगन गर्ने निणर्यमा पुगेको हो ।

कमिटीका अनुसार अर्को सूचना जारी नभएसम्म निर्वाचन प्रक्रिया स्थगन गर्ने र कार्यालयको नियमित कार्य प्रमुख निर्वाचन अधिकृतको स्विकृति लिएर मात्रै संचालन गर्ने निणर्य भएको छ । छलफलले उपभोक्ताको परिचयपत्र नविकरणको म्याद माघ मसान्तसम्म थप गर्ने निणर्य गरेको छ ।

खानेपानी उपभोक्ता तथा सरसफाई समितिको कार्यसमितिले आफ्नो कार्यकाल सकिनुअघि माघ ३ गते निर्वाचन कमिटी गठन गरेको थियो । क्षेत्रीको संयोकत्वमा गठित तीन सदस्यीय समितिको निर्वाचन अधिकृत त्रिलोक विक्रम शाह र अम्बिका घिमिरे रहेका छन् । निर्वाचन कमिटीले पछि अमृतलाल श्रेष्ठ र मनिष प्याकुरेललाई सदस्यमा थप गरेको थियो ।

कमिटीले माघ १५ गते भित्र निर्वाचनका सम्पूर्ण कार्यक्रम सम्पन्न गर्ने तयारी गरेको थियो । कोरोना संक्रमण दर बढ्दै जान थालेपछि कमिटीले सर्वपक्षिय छलफल आयोजना गरेको हो । छलफलमा विभिन्न राजनितिक दलका प्रतिनिधि, जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, उपभोक्तालगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्