जीतपुरसिमराको आधारभूत तहको शैक्षिक अवस्था निराशाजनक, सामुदायिक विद्यालय झनै कमजोर


eShilalekh

१ जेष्ठ २०८१, मंगलवार १०:०६

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको आधारभूत तहको शैक्षिक अवस्था अत्यन्तै निराशाजनक देखिएको छ । उपमहानगरपालिका अन्तर्गतका विद्यालयमा अध्ययनरत विद्यार्थीसंग गरिएको १६ दिने सर्वेक्षणले शैक्षिक अवस्था कमजोर देखाएको हो ।

उपमहानगरपालिकाको ५८ सामुदायिक र ४१ संस्थागत (निजी) गरी ९९ विद्यालयमा अध्ययनरत १६ हजार आठ सय ५० विद्यार्थीसंग उक्त सर्वेक्षण गरिएको थियो । सर्वेक्षणले उपमहानगरपालिकाको शैक्षिक अवस्था निराशाजनक रहेको निष्कर्ष निकालेको छ । उपमहानगरपालिकामा ६१ वटा सामुदायिक र ४९ वटा निजी गरी एक सय १० विद्यालय छन् ।

विट्स ल्याडर नामक संस्थाको प्राविधिक सहयोगमा सर्वेक्षण गरेको सिमरा कलेजले सोमबार केएसआर मुभिजमा प्रतिवेदन सार्वजनिक गरेको हो । सर्वेक्षणमा सिमरा, बकुलिया र डुमरवाना कलेजका एक सय ५० जना स्नातक तहमा अध्यनरत विद्यार्थी खटिएका थिए । प्रविधिको प्रयोग गरी गरिएको डिजिटल सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा सामुदायिक र संस्थागत विद्यालयका शिक्षक, राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिलाई बोलाइएको थियो ।

६१ पृष्ठ लामो प्रतिवेदनले विद्यालयभन्दा सरकारको लगानी रहेको सामुदायिक विद्यालयको अवस्था झनै कमजोर देखाएको छ । सामुदायिक विद्यालयका आठ हजार एक सय ८७ र निजी विद्यालयका आठ हजार ६ सय ६३ विद्यार्थी सर्वेक्षणमा सहभागी भएका थिए ।

प्रतिवेदन अनुसार सामुदायिक र निजी विद्यालयको कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीमध्ये ८२.८ प्रतिशत विद्यार्थीले कक्षा ३ को भाग (डिभिजन) सम्बन्धी समस्या समाधान गर्न नसकेको देखिन्छ । जसमध्ये पाँच कक्षामा अध्ययनरत २५ प्रतिशत र कक्षा ८ मा अध्ययनरत २७ प्रतिशत विद्यार्थीले मात्रै उक्त समस्या समाधान गर्न सकेका छन् ।

यसैगरी कक्षा ८ सम्मका ७७.६१ प्रतिशत विद्यार्थीले कक्षा ३ को पाठ्यक्रममा आधारित प्रश्नको जवाफ समेत दिन नसकेको प्रतिवेदनले उल्लेख गरेको छ । जसमध्ये कक्षा ५ को २९ प्रतिशत र कक्षा ८ को ४७ प्रतिशत विद्यार्थीले कक्षा ३ को पाठ्यक्रममा आधारित रहेर सोधिएका प्रश्नको जवाफ दिएको प्रतिवेदनले देखाएको छ ।

अंक र अक्षर नचिल्ने कक्षा ५ र ८ का विद्यार्थी

प्रतिवेदनले कक्षा ५ मा अध्ययनरत विद्यार्थीले अक्षर र अंक समेत नचिन्ने गरेको तथ्यांक सार्वजनिक गरेको छ । जसमा निजी भन्दा सामुदायिक विद्यालयका विद्यार्थीको संख्या बढी छ ।

सामुदायिक विद्यालयको कक्षा ५ मा अध्ययनरत ६.२० प्रतिशत विद्यार्थीले अंग्रेजी अक्षर र अंक चिन्दैनन् । यसमा निजी विद्यालयको प्रतिशत संख्या १.७८ छ । यस्तै सामुदायिक विद्यालयका ५.३० प्रतिशत विद्यार्थीले नेपाली अंक र अक्षर नचिन्दा निजी विद्यालयका ०.५३ प्रतिशत विद्यार्थीले नेपाली अंक र अक्षर नचिनेको देखिन्छ ।

यसैगरी कक्षा ५ मा अध्ययनरतमध्ये कथा पढेर जवाफ दिन सक्ने र भाग (डिभिजन) सम्बन्धी समस्या समाधान गर्न सक्ने विद्यार्थीको संख्या ५० प्रतिशत भन्दा कम छ । यो तथ्यांक सामुदायिक र निजी दुवैको हो भने यसमा सामुदायिक विद्यालयका विद्यार्थीको अवस्था निकै कमजोर पाइएको छ ।

प्रतिवेदनलाई आधार मान्ने हो भने सामुदायिक विद्यालयको कक्षा ५ मा अध्ययनरत २०.३० प्रतिशत विद्यार्थीले मात्रै अंग्रेजी विषयको पाठ्यक्रममा रहेको कथा पढेर प्रश्नको जवाफ दिन सकेका छन् भने निजी विद्यालयमा अध्ययनरत ४९.३८ विद्यार्थीले सो जवाफ दिएका छन् । यस्तै नेपाली विषयमा सामुदायिक विद्यालयका विद्यार्थीको प्रतिशत ७.८० छ भने निजीको ४७.६० र गणितमा सामुदायिकतर्फ ८ प्रतिशत देखाउँदा निजीका ४२.१ प्रतिशत विद्यार्थीले उक्त जवाफ दिएका छन् ।

कक्षा ८ मा आईपुग्दा सामुदायिक विद्यालयका विद्यार्थीमा केही सुधार देखिएपनि अवस्था भने सन्तोषजनक देखिदैन । प्रतिवेदन अनुसार कक्षा ८ मा पढ्ने ०.८३ प्रतिशत सामुदायिक र ०.४५ प्रतिशत निजी विद्यालयका विद्यार्थीले अंग्रेजी अंक र अक्षर चिन्दैनन् । यस्तै १.११ प्रतिशत सामुदायिक विद्यालय र ०.३० प्रतिशत विद्यार्थीले नेपाली विषयको अंक र अक्षर नचिनेको देखिन्छ । यसैगरी सामुदायिक विद्यालयका ०.८३ प्रतिशत र निजी विद्यालयका ०.१५ प्रतिशत विद्यार्थीले गणित विषयको अंक र अक्षर नचिनेको प्रतिवेदनले बताउँछ ।

विद्यार्थीको अध्ययनको सिकाई र बुझाई स्तरले कमजोर देखाएको सामुदायिक विद्यालयलाई प्रतिवेदनले अन्य क्षेत्रमा पनि सुधार गर्नुपर्ने देखाएको छ । राज्यको ठुलो लगानी रहेको सामुदायिक विद्यालयमध्ये ५० प्रतिशत र विद्यार्थीसंग चर्को शुल्क असुल्ने निजी विद्यालयमध्ये ६५.८५ प्रतिशत विद्यालयको कक्षाकोठामा मात्रै बिजुली बोर्डले काम गर्ने देखाएको छ । यसैगरी ३१.५८ सामुदायिक विद्यालय र ४६.३४ निजी विद्यालयको कक्षाकोठमा रहेका बत्तीले बल्ने अवस्थामा छन् । अन्य विद्यालयले यी कुरामा ध्यान नदिएको तथ्यांकमा उल्लेख छ ।

यसैगरी ३६.८४ प्रतिशत सामुदायिक विद्यालय र ५१.२२ प्रतिशत निजी विद्यालयमा कम्प्युटर ल्याब भेटिएको छ । ति मध्ये केही विद्यालयको ल्याबका कम्प्युटर चल्ने अवस्थामा छैनन् ।

निजी विद्यालयभन्दा सामुदायिक विद्यालय खेल मैदान र लाइब्रेरी (पुस्तकालय) मा मात्र अगाडी देखिएको छ । ९२.९८ प्रतिशत सामुदायिक विद्यालयसंग खेल मैदान हुँदा ८१.३८ प्रतिशत निजी विद्यालयसंग खेल मैदान उपलब्ध छ । यसैगरी ३१.५८ प्रतिशत सामुदायिक विद्यालयसंग पुस्तकालय छ । १२.२ प्रतिशत निजी विद्यालयमा पुस्तकालय उपलब्ध छ । सुरक्षाको दृष्टीकोणले ८५.३७ निजी विद्यालय पर्खाल वा अन्य घेरा भित्र रहँदा ७३.६८ प्रतिशत सामुदायिक विद्यालय पर्खाल वा अन्य घेरा भित्र छन् ।

प्रतिवेदन हेर्दा रुन मन लाग्ने अवस्था छः नगर प्रमुख पौडेल

नगर प्रमुख राजन पौडेलले सर्वेक्षणले देखाएको प्रतिवेदन हेर्दा रुन मन लाग्ने अवस्था रहेको बताएका छन् । प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पौडेलले उपमहानगरपालिकाभित्रको शैक्षिक अवस्थामा सुधार ल्याउन जरुरी रहेको बताए ।

‘सर्वेक्षणले शैक्षिक अवस्था कस्तो छ भन्ने देखाएको छ । प्रतिवेदन हेर्दा रुन मन लाग्ने छ’ पौडेलले भने ‘अब यसलाई सुधार गर्नका लागि सबैको सहयोग आवश्यक छ । ’

नगर प्रमुख पौडेलले शिक्षा क्षेत्रको विकासका लागि उपमहानगरपालिकाले योजनाबद्ध ढंगले काम गरिरहेको समेत बताए । उनले उपमहानगरपालिका भित्रकै दक्ष जनशक्तिलाई स्वय्सेवक शिक्षकमार्फत परिचालन गर्न खोजिएको समेत बताएका छन् ।

शिक्षकको सर्वेक्षण कहिले?

१६ दिन लगाएर विद्यार्थीको सर्वेक्षण गरेको उपमहानगरपालिकाले शिक्षकको पनि सर्वेक्षण गर्नुपर्ने चर्चा सुरु भएको छ । उपमहानगरपालिकाको शिक्षा क्षेत्रमा खटिएका जनशक्ति दक्ष छन् वा छैनन् भन्ने निचोडमा पुग्न र सुधार गर्न शिक्षकको पनि सर्वेक्षण गरिनुपर्ने चर्चा बढ्न थालेको हो ।

उपमहानगरपालिकाभित्र सामुदायिक विद्यालयतर्फ करिब चार सय ५० र निजीतर्फ करिब पाँच सय शिक्षक छन् । सर्वेक्षणले उपमहानगरपालिकाको शैक्षिक अवस्था निराशाजनक देखिँदा यसको जिम्मेवारी शिक्षकले समेत लिनुपर्ने तर्क छ ।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले शिक्षकले आफ्नो जिम्मेवारी गम्भीरताका साथ पालना गरेमा मात्रै शिक्षामा आमूल परिवर्तन हुने बताए । प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै कोइरालाले शिक्षक आफू पनि दक्ष हुनुपर्ने र दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

पुरानो शैलीमा अध्यापन गराएर मात्र नहुने भन्दै कोइरालाले समयअनुसार शिक्षकले समेत आफूमा सुधार र परिवर्तन ल्याउन जरुरी रहेको बताएका छन् ।

पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यक

वर्षेनी करोडौ रकम शिक्षा क्षेत्रमा खर्च गरिरहेको उपमहानगरपालिकाले पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने देखिएको छ । शहरी क्षेत्रका केही विद्यालयमा पूर्वाधारको अवस्था राम्रो भएपनि ग्रामिण भेगका विद्यालयको अवस्था निकै कमजोर देखिन्छ ।

उपमहानगरपालिकाकै शिक्षा क्षेत्रमा कार्यरत एक कर्मचारीले पूर्वाधारको अवस्था निकै कमजोर रहेको बताए । शहरी क्षेत्र बाहेक अन्य क्षेत्रका आधारभूत तहका विद्यालयको अवस्था हेर्ने हो भने दयनिय रहेको उनले बताएका छन् ।

कतिपय विद्यालयमा कक्षा कोठा, विद्यार्थी बस्ने बेन्च, बत्ती, पंखाको अभाव रहेको भन्दै उनले ति अवस्थामा सुधार नल्याएसम्म शिक्षामा समेत सुधार नहुने बताए । पूर्वाधारमा सुधार नगरेसम्म पढ्ने वातावरण नहुने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्