प्रथम पथलैया कप: बारा ११ ले उचाल्यो उपाधी


eShilalekh

१२ माघ २०७८, बुधबार २१:१७

सिमरा: महेन्द्रनगर युवा क्लब, पिलुवालाई स्तब्ध पार्दै बारा ११ फूटवल क्लबले प्रथम पथलैया कप फूटवल प्रतियोगिताको उपाधी उचालेको छ । पथलैयास्थित श्रीकृष्ण मन्दिर मैदानमा भएको खेलमा बारा ११ ले महेन्द्रनगरमाथी १-० को संघर्षपूर्ण जित हात पार्दै उपाधी उचालेको हो ।

बारा ११ को जितमा कृपा चौधरीले निर्णायक गोल गरे । खेलको १४औं मिनेटमा पाएको कर्नर बलको सदुपयोग गर्दै कृपाले प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । महेन्द्रनगरमाथी हावी देखिएको बारा ११ ले उसका लागि खेल अवधीभर कुनै मौका दिएन् ।

खेलको अन्तिम समयसम्म लगातार महेन्द्रनगरविरुद्ध अवसर बनाएको बारा ११ को फिनिसिङ पक्ष भने बाँकी समयमा चल्न सकेन् । खेलमा पाएको थुप्रै अवसर चुकाउन पुग्दा बारा ११ ले जितका लागि अन्तिम समयसम्म संघर्ष गर्नुपर्‍यो ।

प्रतियोगिताको बिजेताले ५० हजार र उपविजेताले २० हजार नगद प्राप्त गरे । विजेता तथा उपविजेता टोलीलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडाअध्यक्ष हिराबहादुर गुरुङ, वडा सदस्य रामदास धौजु, चित्रकुमारी विक, एमाले नेतृ चयन मगर, भावना आचार्य, संचारकर्मी प्रकाश लम्साल, सशस्त्र प्रहरी निरिक्षक सुभाष भट्टराई, प्रध्यानाध्यापक शम्भु मण्डल, नेपाल तेक्वान्दो संघका प्रदेश महासचिव राजकुमार लामालगायतले पुरस्कार वितरण गरेका थिए ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बारा ११ का कृपा चौधरी घोषित भए । उनले सुरक्षा मोबाईल सिमराले उलपब्ध गराएको एक थान मोबाईल प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट फरवार्डको उपाधी पनि कृपाकै नाममा रहयो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक महेन्द्रनगरका सन्देश थापा मगर, उत्कृष्ट मिडफिल्ड महेन्द्रनगरका सन्दिप मोक्तान, उत्कृष्ट डिफेन्स महेन्द्रनगरका सुरेश वाईवा घोषित भए । प्रतियोगिताको सर्वाधिक गोलकर्ताको पुरस्कार महेन्द्रनगरका आकाश राना हात पारे । उनले प्रतियोगिता अवधीभर चार गोल गरेका थिए । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक बारा ११ का सुलभजंग राणा घोषित भए ।

कार्यक्रममा पथलैयाका पूर्व फूटवल खेलाडी राजेन्द्र कार्की, सुशिल प्रधान, रामचन्द्र साह, राजु सुनुवार, हरिबहादुर लामालगायतलाई सम्मान गरिएको थियो । यसअघि प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष गुरुङले गरेका थिए । पूर्वखेलाडी समेत रहेका गुरुङले उद्घाटन कार्यक्रममा बोल्दै लामो समयपछि पथलैयामा फूटवल आयोजना हुदाँ खुशी लागेको र यसको निरन्तरतामा आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

श्रीकृष्ण युवा क्लबका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानिय समाजसेवी, पूर्वखेलाडी, विभिन्न संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधिलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन सहआयोजक दिव्यज्योती युवा क्लबका रुवन थापाले गरेका थिए ।

जीतपुरसिमरा उपमहानगरपालका वडा नं. १ कार्यालयको मुख्य सहयोगमा श्रीकृष्ण युवा क्लबले प्रतियोगिताको आयोजना गरेको हो । माघ १ गते सुरु भएको प्रतियोगितामा जिल्लाभरीका १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगितालाई सफल बनाउन विभिन्न संघसंस्था, कलकारखाना, कार्यालयले सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्