पचरौता नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक, ६१ करोड ४३ लाख विनियोजन
सिमरा: शिक्षा, कृषि र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै पचरौता नगरपालिकाले आइतबार नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरेको छ ।
नगरपालिकाको कार्यालयमा आयोजित १२औं नगरसभाकाबीच आर्थिक वर्ष २०८१।८२ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो ।
जिल्लाका १६ स्थानीय तहमध्ये आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने पहिलो स्थानीय तह बनेको पचरौताले ६१ करोड ४३ लाख विनियोजन गरेको छ ।
संघीय सरकारको वित्तीय समानीकरण अनुदान ११ करोड २७ लाख, सःशर्त अनुदान २३ करोड ८ लाख, समपूरक अनुदान एक करोड १० लाख, संघ विशेष अनुदान ७० लाख, राजस्व बाडँफाँडको नौ करोड ८८ लाख, प्रदेश सरकार समानीकरण अनुदान ९० लाख, प्रदेश स:शर्त अनुदान ५० लाख, समपूरक अनुदान २० लाख, विशेष अनुदान २० लाख र नगरपालिकाको अनुमानित आन्तरिक स्रोत ६ करोड ६० गरेर र अघिल्लो आर्थिक वर्षको संचित सात करोड गरेर बजेट विनियोजन गरिएको नगर प्रमुख जलान्धर सिंहले जानकारी दिए ।
आफ्नो नीति तथा कार्यक्रममा अघिल्लो वर्षको अधुरो कामलाई निरन्तरता र आगामी वर्षका लागि जनमुखी योजना ल्याएको बताउँदै नगर प्रमुख सिंहले आमनागरिकले महसुस गर्ने गरि नगरपालिकामा काम हुने बताए ।
शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, खेलकुद, जेष्ठ नागरिक, युवा, महिला तथा आर्थिक, सांस्कृतिक रुपान्तरण लक्षित कार्यक्रमका साथै सुशासन, सरसफाइ, रोजगार, आत्मनिर्भरलगायतका क्षेत्रमा काम गर्न जनप्रतिनिधि र कर्मचारी प्रतिबद्ध रहेको नगर प्रमुख सिंहले बताए ।
कार्यक्रममा नगर प्रमुख सिंहले बजेट र प्रवक्ता लक्ष्मी यादवले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सिंहद्वारा प्रस्तुत बजेट बहुमतले पारित गरेको छ । नगरसभामा नगर उपप्रमुख नसिमा खातुन, निमित्त प्रमुख प्रशासकीय अधिकृत गौरी साहसहित नगर सभासदस्य र कर्मचारी उपस्थित थिए ।