आगामी आर्थिक वर्षको बजेट भदौदेखि कार्यान्वयन गर्छोः मन्त्री साह


eShilalekh

९ असार २०८१, आईतवार १६:१२

सिमराः कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले आगामी आर्थिक वर्षको बजेट भदौदेखि कार्यान्वयन गर्ने बताएकी छन् ।

नेपाल पशु चिकित्सा परिषद्को डिजिटल काउन्सिल र पुस्तकालयको उद्घाटन तथा आइएसओको लोकार्पण कार्यक्रममा उनले आर्थिक वर्ष २०८१/०८२ को बजेट भदौबाट कार्यान्वयन गर्ने बताएकी हुन् ।

‘बजेट पास गरेर ६ महिनासम्म कामै नगरी बस्ने, आधा वर्ष गइसकेपछि बजेट कार्यान्वयन गर्ने प्रवृत्ति छ’ उनले भनिन्, ‘यो वर्ष भदौदेखि नै बजेट परिचालन हुन्छ।’ बजेट कार्यान्वयन भन्दा मागको प्रवृत्ति बढेको उनले बताएकी छिन् ।

‘भएको बजेट खर्च नगर्ने, बजेट पुगेन भनेर माग मात्रै गर्छौ’ उनले भनिन्, ‘रकम खर्च भएमा, काम गरेको देखिएमा हामीलाई पनि बजेट पुगेन रकम थप गर्नुप‍र्याे भनेर माग गर्न सजिलो हुन्छ।’ रकम खर्च हुन नसक्दा आगामी आर्थिक वर्षका लागि रासायनिक मलको बजेट घटेको उनले बताइन् ।

सरकारले आगामी आर्थिक वर्षका लागि मलको अनुदान रकम घटाएको छ । मलका लागि २७ अर्ब ९५ करोड रकम विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब बजेट विनियोजन गरिएको छ । जुन आगामी आर्थिक वर्षका लागि मलको अनुदान रकम कम हो ।

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस्