जय ट्रफीः आर्मी र बागमतीबीचको खेल बराबरीमा


eShilalekh

२५ पुष २०८१, बिहीबार २२:२०

जनकपुरः जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल आर्मी क्लब र बागमती प्रदेशविरुद्धको खेल बराबरीमा सकिएको छ । जनकपुरस्थित रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको दुई दिवसीय खेल नतिजाविहिन बनेको हो ।

आर्मीले बागमतीलाई दुई सय चार रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर निर्धारित समयसम्म बागमतीले पाँच विकेट गुमाएर ८० रन मात्रै जोड्न सक्यो । जीतका लागि आर्मीले बागमतीको सबै विकेट हात पार्नुपर्ने थियो भने बागमतीले दुई सय चार रनको लक्ष्य भेट्टाउनुपर्ने थियो ।

आर्मीविरुद्ध सम्हालिएर खेल्दै बागमतीले खेल बराबरीमा लगेको हो । दोस्रो इनिङमा बागमतिका लागि शुभ कंसकारले ३३, रित गौतमले १६ र नन्दन यादवले १३ रन बनाए । आर्मीका लागि आकाश चन्द र पवन कार्कीले दुई/दुई विकेट लिए भने कुशल मल्लले एक विकेट हात पारे ।

यसअघि बागमतीविरुद्ध दोस्रो पालिमा आर्मीले आठ विकेट गुमाउँदै एक सय २७ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो । आर्मीले इनिङ समाप्तिको घोषणा गर्दा बागमती दुई सय तीन रनले पछि थियो । पहिलो इनिङमा बागमतीविरुद्ध आकर्षक ब्याटिङ गर्दै आर्मीले निर्धारित ६० ओभरमा पाँच विकेट गुमाएर दुई सय ७६ रन जोडेको थियो । आर्मीका लागि इमरान शेखले ७२ र बशिर अहमदले ५३ रन बनाएका थिए ।

आर्मीको इनिङ सकिएपछि ब्याटिङ गर्न आएको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर दुई सय रन जोड्दै पालि समाप्तिको घोषणा गर्यो । बागमतीका लागि नन्दन यादवले ५१ रन बनाउँदै पहिलो अर्धशतक पूरा गरे ।

बागमतीले पहिलो पालि समाप्तिको घोषणा गर्दा आर्मी ७६ रनले अग्रतामा थियो । आर्मीले दोस्रो पालिमा आठ विकेटको क्षतिमा थप एक सय २७ रन बनाएर दुई सय तीन रनको अग्रता लिँदै पालि समाप्तिको घोषणा गरेको थियो । आर्मीविरुद्ध नन्दन यादवले चार विकेट लिएका थिए ।

पालि समाप्तिको घोषणा गर्दै आर्मीले दिएको दुई सय चार रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित समयसम्म पाँच विकेट गुमाएर ८० बनाएपछि खेल बराबरीमा सकिएको हो । खेलको प्लेयर अफ दि म्याच बागमतीका नन्दन यादव घोषित भए । नन्दनलाई मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले पुरस्कृत गरेका थिए ।

प्रतियोगितामा आर्मी र बागमतीको यो दोस्रो बराबरी खेल हो । यसअघि आर्मीले नेपाल पुलिसंग वीरगन्जमा र बागमतीले मधेश प्रदेशसंग जनकपुरमा बराबरी खेलेको थियो ।

पुलिसले भने आफ्नो दोस्रो खेलमा मधेश प्रदेशलाई विहीबार एक इनिङ र ३५ रनले पराजित गरेको छ । एक जीत र एक बराबरीसहित पुलिस अंकतालिकाको शिर्ष स्थानमा छ । पुलिसले ४० अंक बटुलेको छ । यसैगरी दुवै बराबरी खेलेको आर्मी ३० अंकसहित दोस्रो र २८ अंकसहित बागमती तेस्रो स्थानमा छ । एक हार र एक बराबरीसहित मधेश प्रदेश २१ अंकका साथ चौथो स्थानमा छ ।

आर्मीले अब पुष २७ र २८ गते मधेश प्रदेशसंग तेस्रो खेल खेल्नेछ । उक्त खेल वीरगन्जको नारायणी रंगशालामा हुनेछ । बागमतीले भने सोही समयमा पुलिससंग जनकपुरमा तेस्रो खेल खेल्नेछ । प्रतियोगिताको शिर्ष दुई टोलीले फाइनल खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ १ गतेदेखि ३ गतेसम्म वीरगन्जमा हुनेछ । फाइनल खेल तीन दिवसीय हुनेछ ।

नेपाल क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा नेपाल पुलिस क्लबसहित मधेश प्रदेश, नेपाल आर्मी क्लब, बागमती प्रदेश सहभागी छन् । गत वर्ष सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको शिर्ष चार टोलीले जय ट्रफी खेलिरहेका छन् ।

सम्बन्धित समाचारः

प्रतिक्रिया दिनुहोस्